प्रेस विज्ञप्ति
————-
यस कम्पनीको शेयर निष्काशनका विषयमा मिति २०७१/११/२९ देखि आयोजनाको सम्पूर्ण निर्माण कार्यलगायत मुख्य प्रवेशमार्ग समेत पूर्ण रुपमा अबरुद्ध भइरहेको प्रति यस कम्पनी गम्भीर रुपमा चिन्तित बनेको छ । आयोजनाको प्रवेशमार्ग र निर्माणकार्य अवरुद्ध भइरहेबाट आयोजनाको समय तालिका लम्बिने र लागतसमेत बढ्न जाने अवस्था सिर्जना भएको छ । मुलुकमा विद्यमान ऊर्जा संकटलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका निभाउने यस राष्ट्रिय गौरबको आयोजनाको निर्माणकार्य अवरुद्ध हुनु सबैको लागि दुःखद विषय हो ।
दोलखा जिल्लाबासीको लागि छुट्ट्याइएको १०% शेयर निष्काशन गर्न सूचना प्रकाशित भएको सन्दर्भमा उठान भएका विभिन्न विषयवस्तुहरु उपर सम्बद्ध सरोकारवालाहरुसँग छलफल हुँदा प्राप्त सुझावसमेतलाई मध्यनजर गरी ती विषयवस्तुहरुलाई सम्बोधन गर्न प्रकृयागत रुपमा अघि बढ्न थप समय लाग्ने देखिन्छ । यस सम्बन्धमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको मिति २०७१/१२/०७ गते बसेको बैठकबाट स्थानीय बासिन्दाहरुको मागलाई सम्बोधन हुने गरी जिल्ला स्तरीय समन्वय समितिको मिति २०७१/११/११ को निर्णय विधिसम्मत ढंगले कार्यान्वयन गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति आवश्यक भएको र बोर्डबाट प्राप्त हुने निर्देशन/सहमति/स्वीकृति बमोजिम थप प्रकृया अघि बढाउनु पर्ने भएकोले दोलखा जिल्लाबासीलाई छुट्ट्याइएको १०% शेयर सुनिश्चित गरी छुट्टै विवरणपत्र प्रकाशित गर्ने गरी हाललाई सो समूहको शेयर निष्काशन कार्य स्थगन गर्ने निर्णय भएबमोजिम सोही मितिमा नेपाल धितोपत्र बोर्डमा अनुरोध गरिएको व्यहोरा सम्बद्ध सबैमा जानकारी गराउन चाहन्छौं ।
साथै आयोजनास्थलमा आयोजनाका मुख्य सिभिल निर्माणकार्यका ठेकेदारका श्रमिकहरुले कम्पनीको शेयर माग गरी आयोजनाको निर्माणकार्य पूर्णरुपमा बन्द गरिएको सन्दर्भमा यस कम्पनीको गम्भीर रुपमा ध्यानाकर्षण भई कम्पनीको सञ्चालक समितिबाट श्रम कानुनको विशेषज्ञसहित सम्बद्ध श्रमिकहरुको प्रतिनिधिहरुको सहभागितामा वार्ता गर्ने निर्णय भएकोले हाल जारी हडताल तत्काल स्थगन गरी वार्तामा सहभागी हुन आह्वान गर्दछौं ।
आयोजनाको निर्माणकार्यमा कुनै किसिमको अवरोध नपु-याई आयोजनाको दैनिक कामकाज पुनः सुचारु गर्न सम्बद्ध सवैको सहयोग अति जरुरी भएको हुनाले स्थानीयबासीद्वारा प्रवेशमार्गको सिंगटीलगायत अन्य क्षेत्रहरुमा भएको सवारी आवागमनमा भएको अवरोध तत्काल स्थगन गर्न तथा आयोजनाको अवरुद्ध मुख्य निर्माणकार्य सुचारु गर्न सम्बद्ध सबैमा अनुरोध गर्दछौं ।
कुनै पनि समस्याको समाधान वार्ता र संवादबाट समाधान हुनसक्ने प्रति कम्पनी सदैव सकारात्मक रहेको व्यहोरा अनुरोध गर्दै समस्या समाधान गर्न सम्बद्ध सबै पक्षबाट सहयोग पु-याइदिन हुन पनि पुनः अनुरोध गर्दछौं ।
मितिः २०७१/१२/०७