माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विज्ञप्ति, मिति : २०७१/११/१५ – Feedback of Aarambha Group

अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विज्ञप्ति
—————————————————————————————-

राष्ट्रिय दैनिक पत्रिका ‘नागरिक’को मिति २०७१/११/१३ गतेको अंकको भित्रीपृष्ठमा “समितिले क्षेत्राधिकार मिच्यो” भन्ने शीर्षकमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका आयोजना प्रमुखको भनाइ उद्धृत गर्दै प्रकाशित समाचारले दोलखा जिल्ला र आम सर्वसाधारणमा भ्रम र अन्यौल सिर्जना गरेको व्यहोरा अनुरोध गर्दै उक्त समाचार नितान्त मनोगत, भ्रामक र कपोलकल्पित रहेको व्यहोरा स्पष्ट पार्न चाहन्छौं ।

आयोजना कार्यालयले प्रभावित गा.वि.स.हरुका स्थानीय बासिन्दाहरुको मागका सम्बन्धमा जिल्ला स्तरीय समन्वय समितिको मिति २०७१/११/११ को निर्णयलाई कार्यान्वयनको लागि नियामक निकाय श्री नेपाल धितोपत्र बोर्ड समक्ष मिति २०७१/११/१३ को पत्रमार्फत अनुरोध गरिसकिएकोले उक्त समाचारमा उल्लिखित भनाइ आयोजना प्रमुखको नरहेको र जिल्ला समन्वय समितिको उपर्युक्त निर्णयको विपक्षमा आयोजना प्रमुख र आयोजना व्यवस्थापन नरहेको समेत सार्वजनिक रुपमा स्पष्ट पार्न चाहन्छौं ।

हालसम्म स्थानीयबासी, जिल्लामा क्रियाशील राजनैतिक दलहरु र जिल्ला समन्वय समितिको साथ, सहयोग र भरोसा प्राप्त भएर नै माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण प्रगतिको पछिल्लो चरणमा पुग्न सफल भएको कुरा जानकारी गराउँदै आयोजनाको पूर्ण सफलताको लागि आगामी दिनमा पनि स्थानीयबासी र सबै सरोकारपक्षहरुबाट निरन्तर साथ र सहयोग प्राप्त हुने अपेक्षा आयोजना व्यवस्थापनले राखेको व्यहोरा अनुरोध छ ।

विज्ञान प्रसाद श्रेष्ठ
आयोजना प्रमुख
मिति : २०७१/११/१५